Main

निगमले तिर्‍यो जहाज खरिद किस्ताको ४३ करोड

२ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ३१ असारमा उक्त रकम भुक्तानी गरिएको छ ।

पछिल्लो व्यवस्थापन आएसँगै निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको समेत जनाएको छ ।

कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन दुवै कोषसँग निगमले अनुरोध गरेको थियो ।

साथै किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र समेत पठाएको थियो ।

यस सम्बन्धमा छलफल समेत भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button