Main

मण्डलाले थाल्यो ‘अन्धवेग’को मञ्चन, लगत्तै नाजिर हुसेन र अनुप बरालको नाटक

काठमाडौं । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’सँगै आगामी एक वर्षका लागि मण्डला थिएटरको नाटक मञ्चन शृंखला सुरु भएको छ । शुक्रबारदेखि सुरु ‘अन्धवेग’को मञ्चन चैत १८ सम्म चल्नेछ ।

मण्डलाको नाटक सूचीमध्ये आगामी माघसम्म सात नाटक मञ्चन हुनेछन् । त्यसपछि बाँकी सात नाटक मञ्चन गर्ने तयारी छ । यसको घोषणा अनुप बरालको नयाँ नाटक ‘म्याकवेथ’सँगै हुनेछ ।

‘अन्धवेग’ मञ्चन सकिएपछि नाजिर हुसेनले निर्देशन गर्ने नाटक मञ्चन गर्ने तयारी छ । हुसेनको नाटक सकिएपछि बरालको नाटक ‘म्याकवेथ’को एक महिनासम्म मञ्चन हुनेछ ।

त्यसपछिको लाइनअपमा पशुपति राई, अनिल सुब्बा, केदार श्रेष्ठ र किरण चाम्लिङ राईले निर्देशन गर्ने नाटक छन् । आगामी माघपछि मण्डलाले अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो श्रृंखला आयोजनाको तयारी पनि गरेको छ ।

मण्डलाका सचिव तथा अभिनेता विजय बरालले यसबारे भने, ‘२०८१ सालभर हामी १४ नाटकको मञ्चन तयारीमा जुट्नेछौं ।’

अन्धवेग’ नाटक के हो ?

यो नाटक मण्डला थिएटरले यस वर्ष मञ्चन गर्ने १४ नाटकमध्ये यो नाटक पहिलो हो । बालकृष्ण समले १९९६ मा लेखेको यो मनोवैज्ञानिक दुःखान्त नाटक हो । ‘समले लेखेका अधिकांश नाटक मञ्चीय दृष्टिकोणबाट हेर्दा जटिल छन् भन्ने भाष्य निर्माण भएको छ । यो नाटक सरल, स्वभाविक र कोमल संवादले प्रयुक्त नाटक हो,’ निर्देशक खतिवडाले भने ।

नियति र कर्मको फल, प्रेम र वासना, आफू अनि आफैंभित्रको अर्को आफू, चेतना र नैतिकताको आयाममा नाटक आधारित छ । आजको समाजबाट त्यतिबेलाको समाजलाई नियाल्ने जमर्कोको रुपमा निर्देशक खतिवडाले यसलाई अर्थ्याए ।

‘मलाई खासमा समको जिन्दगीमाथि नाटक बनाउने धोको थियो । नलेखिएको उनको त्यो नाटक निकै मार्मिक छ, कुनै दिन अवश्य बन्नेछ,’ उनी भन्छन्, ‘९० सालको भुइँचालोले हल्लाएको नेपाललाई यो नाटकले त्यो बेला कति हल्लायो थाहा भएन तर आज पनि उत्तिकै हल्लाउने र भूचाल ल्याउने सामर्थ्य यो नाटकमा छ ।’

नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, शारदा अधिकारी, संगीता थापा, सुवास तिमल्सिना, सुन्दर धिताल, सन्तोष गिरी, सन्देश कार्की, बारात लिम्बू, सागर खाती, केशव शाही र रिजन केसीको अभिनय छ ।

तस्वीरहरु

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button