सुर्खेतमा कांग्रेस छाडेका सापकोटा बने रास्वपा सभापति
१ कात्तिक, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला समितिको सभापतिमा रमेशकुमार सापकोटा चयन भएका छन् ।
बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले सापकोटालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कमिटी सचिव रहेका सापकोटाले बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए । उनले कांग्रेस नगर सचिवबाट राजीनामा दिनुको कारण भने कार्यव्यस्तता देखाएका थिए ।
तर कांग्रेस नेतृत्वको पेलानका कारण राजीनामा दिएको उनी निकट नेताहरू बताउँछन् । सुर्खेत काँक्रेबिहार यातायात प्रालिको अध्यक्षसमेत रहेका सापकोटा यातायात समितिमा पछिल्लो समय देखिएको विवादकै कारण पार्टी परित्याग गरेको नेताहरू बताउँछन् ।
कांग्रेस नेतृत्वको व्यवहार ठीक नभएकै कारण आफूले पार्टी परित्याग गरेको सापकोटाले बताए । ‘पहिलो कुरा कांग्रेसभित्र नेतृत्वको व्यवहार नै ठीक भएन । दमन कारी व्यवहार देखियो’, सभापति सापकोटाले अनलाइनखबरसँग भने, ‘अर्को कुरा दमनकारी नेतृत्व र पुरानो ढर्राको राजनीतिबाट परिवर्तन हुने आस नदेखेपछि विद्रोह गरेको हुँ ।’
यस्तै रास्वपा सुर्खेतको उपसभापतिमा जगत बस्नेत, सचिवमा विनम शाही, सह सचिवमा भूपेन्द्रबहादुर थापा, कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा हिरासिङ थापा, केशरी वली, बालकृष्ण शर्मा, मोहनसिंह खत्री, किशोर थापा, राहुल बिक र शान्ति बिशुन्खे सहित १३ सदस्य नयाँ कार्यसमिति चयन भएको रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले जानकारी दिए ।
प्रथम जिल्ला अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य सन्तोष परियारको प्रमुख आतिथ्यतामा सुर्खेत भेला सम्पन्न भएको छ । आजै करिव ७० जना युवाहरू रास्वपामा प्रवेश गरेको प्रवक्ता अधिकारीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।