युरो २०२४ : इटली र क्रोएसिया महत्वपूर्ण खेलमा भिड्दै

१० असार, काठमाडौं । साविक विजेता इटलीले युरो २०२४ को समूहको अन्तिम खेलमा क्रोएसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे हुनेछ ।
लाइपजिगमा यी दुई टोली मैदान उत्रिंदा दुवैको नजर नकआउट चरणमा पुग्नेमा हुनेछ ।
दुई खेलबाट ३ अंक जोडेको इटली क्रोएसियासँग हार टारेमा नकआउट चरणमा पुग्नेछ । पहिलो खेलमा अल्वानियालाई पराजित गरेको इटली दोस्रो खेलमा स्पेनसँग पराजित भएको थियो ।
क्रोएसियाका लागि भने यो खेल नकआउट जस्तै हुनेछ । पहिलो खेलमा स्पेनसँग पराजित भएको क्रोएसिया दोस्रो खेलमा अल्वानियासँग बराबरीमा रोकिएको थियो । इटलीसँग पराजित भएमा क्रोएसिया समूह चरणबाटै बाहिरिने छ ।
क्रोएसिया दुई खेलबाट १ अंकसहित समूह बी को अन्तिम स्थानमा छ ।
क्रोएसियाले इटलीलाई हराएमा समूह उपविजेता बन्ने अवसर छ । यदि अल्वानियाले इटलीसँग जित निकाल्दा क्रोएसिया समूह उपविजेता बन्नेछ ।
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले आफूहरू सकारात्मक रहेको र गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले इटलीविरुद्ध खेल जित्नैपर्ने बताएका छन् ।
इटली र क्रोएसिया मुख्य प्रतियोगितामा खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि सन् २००२ को विश्वकपको समूह चरणमा क्रोएसियाले इटलीलाई २–१ ले पराजित गरेको थियो भने २०१२ को युरोमा १–१ को बराबरी खेलेको थियो ।
यी दुईबीच २००२ को विश्वकपपछि भएको चार खेल सबै बराबरीमा सकिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।