रामकृष्ण ढकाल सिड्नीमा सम्मानित
सिड्नी । गायक रामकृष्ण ढकाल अस्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । नेपाली संगीतमा दिएको उच्च योगदानको कदर गर्दै सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालले उनलाई सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै रामकृष्णले यो साथ र मायाले थप ऊर्जा थपेको बताए । ‘व्यस्तताका बाबजुद पनि मेरा गीत-संगीत सुन्न र मलाई ऊर्जा दिन आउनु हुने अस्ट्रेलियामा रहनुहुने सबै नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
सम्मान कार्यक्रमका आयोजक संस्थाका राजेश केसीले रामकृष्ण ढकाललाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । प्रवासमा रामकृष्ण ढकालको गीतले दोस्रो पुस्तालाई पनि जोडेको उनले बताए ।
‘रामकृष्ण ढकाल साँझ’का लागि तीन हप्ताअघि रामकृष्ण अस्ट्रेलिया आएका हुन् । यस बीचमा उनले सिड्नी, एडिलेट, ब्रिसबेन र न्युक्यासल लगायतका सहरमा सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
तीन हप्ताको अस्ट्रेलियाको सांगीतिक भ्रमण सकेर रामकृष्ण बिहीबार यतैबाट अमेरिका प्रस्थान गर्नेछन् । अमेरिकाको कार्यक्रमपछि उनी नेपाल फर्कनेछन् । रामकृष्ण ढकालको अस्ट्रेलिया सांगीतिक यात्राको व्यवस्थापन पाल्पा सर्भिसेसले गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।