दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)

५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो ।
तर यहाँ फुटबल खेलमात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मृगौला दिवसका कार्यक्रम पनि यहीँ हुन्छन् । फुटबलबाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल यत्रतत्र छरिएको देखिन्छ । मैदानमा कतै खाल्डाखुल्डी परेको छ भने दुबो त धेरै मरेको छ ।
यही कारण सन् २०२६ को विश्वकपको छनोट अन्तर्गत नेपाल र बहराइनबीच हुने खेल घरेलु मैदानमा नहुने पक्का भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) मातहतमा रहेको मैदानमा विश्वकप छनोटको खेल हुन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राखेप आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
‘सबैलाई नेपालको खेल छ भन्ने कुरा थाहा थियो । उहाँहरुलाई पनि जानकारी भएको विषय हो । मैदानको विषयमा राखेप पन्छिन मिल्दैन’, एन्फा महासचिव किरण राईले भने ।
यही मैदानमा ११ मंसिरमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आयोजना गरियो । ६ फाुगनदेखि रग्बि प्रतियोगिता पनि भयो । १ चैतमा मृगौला दिवसको कार्यक्रम राखियो ।
त्यसअघि १५ असोज २०७९ मा दशरथ रंगशालामा दि एज ब्याण्डले रंगशालामा कन्सर्ट नै ग¥यो । त्यसबेला खेलमैदान पानी र बियरका बोतलले भरिएको थियो । पिचको दुबो माडिएर नष्ट भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ भने विश्वकप छनोटको खेल हुन नसक्नुमा आफ्नो दोष नभएको भन्दै पन्छिन्छन् ।
‘रंगशालाको मैदानको संरक्षण गर्ने कर्मचारी समेत एन्फाका हुन् । उनीहरुले आफ्नो काम कति बेला के गर्ने भन्ने कुरा थाहा हुनुपर्छ । सबै कुरा राज्यले गरेन भन्न मिल्दैन । नेपालको खेलको बारेमा राखेप भन्दा बढी चासो एन्फालाई थियो होला नि !’ उनले भने ।
एन्फाको नो अव्जेक्सन लेटर लिएर मात्र रंगशाला अन्य प्रयोजनमा लगाउने गरेको घिसिङको दाबी छ । ‘एन्फाले हामीलाई नो अव्जेक्सन लेटर नदिएसम्म हामीले कुनैपनि बाहिरी कार्यक्रमका लागि मैदान उपयोग गर्न दिएका छैनौं’, उनले भने ।
एन्फा महासचिव राई भने आफूहरुले ३ महिनाअघि नै मैदान तयार गर्न राखेपलाई भनेको बताउँछन् । ‘हामीले विश्वकप छनोटको खेलका लागि मैदान तयारी गर्न ३ महिनाअघिबाट राखेपलाई पत्र पठाएका हौं । कति दिनमा कसरी मैदान तयार गर्ने भन्ने विषयमा हामीले उहाँहरुलाई पत्र लेखेका छौं’, उनले भने ।
२ चैतमा युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री विराजभक्त श्रेष्ठ आएपछि मैदान मर्मत सम्भारको नीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ । राखेपले भने २३ फागुनमा नै अञ्जन धमलाको संयोजकत्वमा पूर्वाधार व्यवस्थापन र सञ्चालन समिति गठन गरेर आफूहरुले काम गरिरहेको बताएको छ ।
‘सरकारले हामीलाई निर्देशन दिनुअघि नै फागुन २३ गते हामीले १५ दिनको समय सीमा तोकेर परिषदका सदस्य अञ्जन धमलाको नेतृत्वमा पूर्वाधारको व्यवस्थापन र सञ्चालन सम्बन्धी कार्यवीधिका लागि प्रक्रिया अघि बढाइसकेको छ’, घिसिङले भने ।
राखेपको लापरबाही
नेपालमा घरेलु तथा राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरमा रंगशाला भएपनि अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशाला निर्विकल्प हो । तर देशभित्र धेरै फुटबल गतिविधि नभएका बेला फुटबलबाहेक अन्य प्रयोजनमा मैदान लगाएका कारण अन्तर्राष्ट्रिय खेल रोकिनु चरम लापरवाही हो ।
राखेपका पूर्वसदस्य सचिव रमेश सिलवाल भन्छन्, ‘मैदान बिग्रेर नेपालले होम ग्राउन्डमा घरेलु दर्शकको अगाडि खेल्न नपाउनु र दर्शकले आफ्नो खेलाडीले खेलेको हेर्न नपाउनु राष्ट्रको बेइज्जत हो ।’ यसमा राखेपले अरुलाई दोष दिएर पन्छिन नमिल्ने उनको भनाइ छ ।
दशरथ रंगशालाको विकल्प पोखरा रंगशाला पनि हुन सक्थ्यो । तर रात्रीकालीन खेलका लागि फ्ल्ड लाइट छैन । त्यस्तै अन्तर्राष्ट्रिय रंगशालामा हुनुपर्ने ड्रेसिङ रुम, फ्ल्ड लाइट तथा शौचालय जस्ता अत्यावश्यक पूर्वाधार पनि छैन ।
एन्फा महासचिव राई भन्छन्, ‘हामीसँग २/३ वटा रंगशाला भएको भए, दशरथ रंगशालामा नै भर पर्ने अवस्था हुँदैनथ्यो । अब भने यसबारे गम्भीर भएर सोच्ने बेला आयो ।’
हेर्नुहोस् तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।