Main

सन्तोषी बूढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

७ वैशाख, काठमाडौं ।प्रथम बुढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाएको छ ।

वैशाख १५ गतेदेखि सुरु हुने महोत्सवका लागि सन्तोषीलाई ब्रान्ड एम्बासडरमा चयन गरिएको आयोजक बोर्डका संयोजक सुमन तामाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन् ।

संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताउदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

खेलकुद महोत्सवमा विभिन्न ८ खेल समावेश गरिएको छ । कराते, तेक्वान्दो, मुवाँथाईं, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ । रेस्लिङ र केहि परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ । खेलकुद महोत्सव बैशाख १९ गतेसम्म चल्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button