एनसेलको मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमले थाल्यो काम

काठमाडौं । मनसुन केन्द्रित विपद् पूर्वतयारी गर्न गठित एनसेलको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले आफ्नो काम सुरु गरेको छ ।
वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने सेवालाई लक्षित गरी द्रुतगतिमा आफ्नो सेवा सञ्चालन गर्न गठित टिमले काम सुरु गरेको कम्पनीले जनाएको छ ।
रेस्पोन्स टिमले काम थालेसँगै हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको कम्पनीले जनाएको छ ।
मनसुनजन्य प्रकोपका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा आरआरटी टिम परिचालन गरिएको कम्पनीले जनाएको छ ।
हावाहुरी र भारी वर्षाको बावजुत पनि १२ असारमा कोशी, मधेश र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावरमा असर गरेको थियो । तर रेस्पोन्स टिमले साढे ४ घण्टाभित्रमा ७० प्रतिशतभन्दा बढी टावरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
हावाहुरी र भारी वर्षाका कारण सडक अवरुद्ध भएको थियो भने अप्टिकल फाइभर ब्रेक भएको थियो । साथै नेपाल विद्युत् प्राधिकरणको पोल ढलेर विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।
यसैगरी एनसेलले विपद् पूर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ ।
विपद्को समयमा विद्युत् आपूर्तिमा हुने समस्यालाई ध्यानमा राखेर टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था पनि गरिएको एनसेलको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।