चेल्सीको पोष्टमा आर्सनलको ५ गोल

१२ वैशाख, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई सानदार जित दिलाउन वेन ह्याइट र काइ हाभार्टले दुई-दुई तथा लियोन्ड्रो ट्रोसार्डले एक गोल गरे ।
उपाधि होडमा रहेको आर्सनलले पहिलो हाफमा एक गोल मात्र गरेको थियो तर दोस्रो हाफमा चार गोल थप्यो ।
खेलको चौथो मिनेटमै ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । वेन ह्वाइटले ५२औं र ७०औं तथा हाभार्टले ५७औं र ६५औं मिनेटमा गोल गरे ।
जितपछि शीर्ष स्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ । आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि पारेको छ । एक खेल कम खेलेको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ ।
३२ खेल खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।
चेल्सी भने ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।