Main

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति बजेटपछि, किन रोकियो प्रक्रिया ?

२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने देखिएको छ । सरकारले चार महिनाअघि नै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरे पनि अझै केही साता लम्बिने भएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक भएपछि मात्रै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने अध्यक्ष सिफारिस समिति संयोजक डा. मिनबहादुर श्रेष्ठले बताए ।

बोर्ड अध्यक्ष नियुक्ति ढिलाइ हुनुमा धेरै कारण रहेको उनको भनाइ छ । १६औं योजनाका प्रमुख अन्तरवस्तु सार्वजनिक गर्ने क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठ आफूले जिम्मेवारी पाएमध्ये कार्यसम्पादन ढिलो भएको यो मात्रै एउटा काम रहेको बताए । बजेट आउनासाथ नियुक्ति प्रक्रियामा केन्द्रित हुने उनको भनाइ छ ।

‘म १६औं योजनाको तयारीमा लाग्नुपर्‍यो, अहिले अर्थ सचिवज्यू बजेटमा लाग्नुभएको छ,’ उनले भने, ‘व्यावसायिक योजना प्रस्तुतीकरण, अन्तर्वार्तामा समेत समय धेरै लाग्छ ।’

तर, अर्थ मन्त्रालय स्रोतका अनुसार उम्मेदवारको ‘सर्टलिस्ट’ तयार गर्दा योग्यतालाई कदर नगरिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले असन्तुष्टि जनाएपछि नियुक्ति प्रक्रिया लम्बिएको हो ।

२० पुस २०८० देखि रिक्त बोर्ड अध्यक्ष नियुक्ति गर्न भन्दै सरकारले ३ माघमै सिफारिस समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित समितिले अध्यक्ष पदमा आवेदन दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको छ ।

सर्टलिस्टमा परेकामा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ छन् ।

तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाई बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । सन्तोषनारायण श्रेष्ठ भने व्यवसायी हुन् ।

सर्टलिस्टमा परेकामध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरिन्छ र एकलाई मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।

अध्यक्ष नियुक्ति नभएकै कारण बोर्डको काम नरोकिएको योजना आयोग उपाध्यक्ष श्रेष्ठले बताए । अहिलेको कानुनी व्यवस्था अनुसार बोर्डको काम भइरहेको उनको दाबी छ ।

तर, तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सार्वजनिक निष्कासनको कार्य अवरुद्धजस्तै छ ।

सर्टलिस्टमा परेकालाई कार्यायोजना प्रस्तुत गर्न २९ चैतमा बोलाइए पनि एकाएक अर्थमन्त्रीको व्यस्तता देखाएर स्थगित गरियो ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलन, सचिव परिवर्तन, बजेट तयारी लगायत कारण देखाउँदै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिँदै आएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button