Main

नेदरल्याण्ड्सका यी ३ कमजोरीको फाइदा उठाए नेपालले जित्न सक्छ उपाधि

२१ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ । एसोसिएट बादशाह नेदरल्यान्ड्ससँग नेपालले घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेल्न लागेको हो ।

नेपालले २०२१ को फाइनलमा त्रिवि क्रिकेट मैदानमै नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै च्याम्पियन बनेको थियो । नेपालले दिएको २३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स त्यतिबेला १७.२ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

यस पटक त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो । १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपाल र नेदल्यान्ड्सबीच हालसम्म ११ टी–२० आई खेल भएका छन् । नेपाल समान ५ खेलमा विजयी र पराजित भएको छ ।

मंगलबारको फाइनलमा नेपालले नेदरल्यान्ड्सका यी तीन कमजोरीको फाइदा उठाउन सके खेलमा हाबी बन्दै सहज जित हात पार्न सक्छ ।

ओपनरमा बढी निर्भर नेदरल्यान्ड्सको ब्याटिङ

ओपनर माइकल लेभिट नेदरल्यान्ड्सका प्रमुख खेलाडी हुन् । युवा ब्याटर लेभिटले यसै सिरिजमा नेपालविरुद्ध टी–२० आईमा डेब्यू गर्दै ३६ बलमा ५४ रन बनाएका थिए ।

लेभिटले नामिबियाविरुद्ध ६१ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेलेका थिए ।

ठूला सट प्रहार गर्न माहिर लेभिट दोस्रो खेलमा नेपालसँग पहिलो ओभरमै मिडअफमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए । लेभिट आउट भएपछि नेदरल्यान्ड्स सुरुवात देखिनै दबाबमा पर्दै १२० रनमा अल आउट भएको थियो ।

उनको खेल्ने शैली अस्ट्रेलियाका मिचेल मार्शसँग मिल्दो जुल्दोछ । अर्का ओपनर म्याक्स ओडाउडले यस सिरिजमा सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

तर उनी पनि आक्रामक ब्याटर हुन् । म्याक्स ओडाउड नेपालसँग पहिलो खेलमा ५ र दोस्रोमा ३१ रनमा आउट भएका थिए । यी दुई ब्याटरलाई सुरुवात मै आउट गर्न सके नेदरल्यान्ड्सको विशाल योगफलको सम्भावना लगभग सकिने देखिन्छ ।

किनभने मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर देखिन्छ । अर्कोतर्फ मध्यक्रम र तल्लोक्रममा टी–२० विशेष खेलाडी टोलीमा छैनन् । स्कट एडवार्ड्स, साइब्रान्ड एंगेलब्रेक्ट, नोहा क्रस, वेस्ली ब्यारेसी र तेजा निणामानिरु ब्याटरको रुपमा छन् । तेजा नेपालमा रन बनाउन ठूलो संघर्ष गरेका छन् । अन्य टी–२० विशेष खेलाडी होइनन् ।

कमजोर स्पिन आक्रमण

नेदरल्यान्ड्सको स्पिन आक्रमण कमजोर छ । स्पिनरमा आर्यन दत्त र रोलेफ भान मर्वे छन् । अनुभवी मर्वेले अर्को एण्डबाट आर्यनबाट साथ पाउन सकेका छैनन् ।

आर्यनले टी–२० आई त्रिकोणात्मक सिरिजमा ४ खेलमा ९ को इकोनमीमा रन खर्चिदै ४ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रदर्शन १–२४ छ । नेपाल र नामिबियाका ब्याटरले दत्तलाई खुलेर खेल्दै आएका छन् ।

मर्वेले ४ खेलमा ४ विकेट लिएका छन् । उनको इकोनमी रेट पनि ८.४१ छ । पार्टटाइम स्पिनर एंगेलब्रेक्टले ३ विकेट लिएका छन् । उनको इकोनमी ९.५० रन प्रतिओभर छ । नेदरल्यान्ड्सको स्पिन आक्रमणको नेपाली ब्याटरले फाइदा उठान सक्नुपर्छ ।

किंग्माको राम्रो साथ नहुनु

नेदरल्यान्ड्सको तीव्र गतिको बलिङ आक्रामण भिभियन किंग्मामा बढी निर्भर छ । उनलाई अर्को एण्डबाट टिम भान डर गुप्टेन र फर्द क्लासेनले राम्रो साथ दिन सकेका छैनन् ।

विरामी हुँदा फर्द क्लासेनले नेपालसँगका दुबै टी–२० आई खेलेका थिएनन् । कायल केलिन नेपालसँग दोस्रो खेल खेलेका थिए । ६ बल मध्य ४ मा उनी लडेका थिए ।

लेभिट अर्को विकल्प हुन् ।

किंग्माले नेपालसँग दोस्रो खेलमा ३ र पहिलो खेलमा १ विकेट लिएका थिए । ओडीआईमा नेपाललाई हराउन ३ विकेट लिएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button