हृदयको निबले कोरिएको नियात्रा
‘यात्रामा सुख, दुःख, हर्ष अनि आनन्दका अनुभूति महसुस गर्दागर्दै बितिजाने रहेछ।‘ हो जानु काम्बाङजी; यात्रा मात्र होइन जिन्दगी पनि यसैगरी हामीमाथि उडिरहने हावासँगै उडिजाने हो। पारिजात दिदीले भने जस्तै हामी बाँच्ने त केबल सम्झनामा हो।
पैतालाका डोबहरू नापेर संसारका विविध कुनामा पुग्छ मान्छे। रहर, बाध्यता, गुणस्तरीय जीवन, पारिवारिक एकता– संसार घुम्ने यी जेसुकै कारण हुन्। मान्छे हिंड्न पनि छोड्दैन र पुरानो ठाउँलाई सजिलै भुल्दैन पनि। यस क्रममा नयाँ स्थानको ग्रहण र पुरानाको स्मृतिको सुसेलीमा कुँदिएको जानु काम्बाङ लिम्बुको पुस्तक हो— फ्लान्डर्स फिल्डमा तमोरका सुसेली ।
हुन त जानु काम्बाङसँग मेरो चिनजान धेरै पुरानो होइन। केही महिनाअघि काठमाडौंमा हाम्रो भेट भएको थियो। उनले आफूलाई गाउँकी सोझी महिला भन्दै चिनाएकी थिइन्। झट्ट हेर्दा उनी सोझी पनि लाग्थिन्। यद्यपि त्यो सोझोपनमा एउटा साहित्यप्रतिको अनौठो आकर्षण भेटेको थिएँ मैले। उनको सरल स्वभावमा गाम्भीर्य थियो भने अहंकारको लेससम्म पनि थिएन। सायद त्यही सरलताले नै मानिसलाई ठूलो बनाउँछ।
पहिलो भेटमा मलाई लागेको थिएन उनी चार–चार वटा पुस्तककी लेखिका हुन् भनेर। उनको चौथो कृति हात परेपछि मैले फारोफारो गरेर पढ्न थालें। त्यही बेला हङकङ जाने मौका मिल्यो र उनको ‘दुई दिने हङकङे यात्रा’ शीर्षकको नियात्रा पनि एकै सासमा पढिसिध्याएँ अनि रोमाञ्चक बनें। डायस्पोरिक लेखन प्रायः फिका लाग्छ मलाई। तर मेरो पूर्वधारणा विपरीत यस पुस्तकमा जानु भने विशेष किसिमले चम्किएको पाएँ। लाग्थ्यो— गाढा रङमा पोतिएको रङ्गीन तस्वीर हो यो उनको कृति।
यसै नियात्राबाट चाल पाएको हुँ जानु काम्बाङ ताप्लेजुङमा जन्मिएकी साहित्यिक स्रष्टा रहिछन्, जसको कलम कविता, गीत र आख्यानमा एकैसाथ बगेको रहेछ। प्रस्तुत कृति इन्डिगो बुक्सले प्रकाशित गरेको नियात्रा सङ्ग्रह हो, जसमा १८ नियात्रामा उनका जीवनका अनेकौं रङहरू उधिनेर राखिएको छ। सात निबन्धले नेपालका पवित्र पर्वतीय गाउँलाई समेटेका छन् भने बाँकीले विदेशी भूमिका भोगाइ चित्रण गरेका छन्।
उनका नियात्रामा नेपाल र परदेशको जीवनलाई जोड्ने सेतु जस्तै लाग्छन् जसले नेपाली डायस्पोराको आत्मीय अनुभवलाई उजागर गर्दछ। उनलाई परदेशी भूमि पनि तमोरको चिसो पानीको मिठास सम्झाउने ठाउँ बनेको छ। त्यही पर्खालमा उनले माइती गाउँको याद ताजा राखेर लेख्ने प्रेरणा बटुलेकी छन्। एउटी नारीले आफ्नो माइती गाउँ हृदयमा साथै बोकेर हिंडेका हुँदारहेछन्।
जानु काम्बाङ कहिले बेलायत कहिले हङकङको धरातलमा पाइला टेकेर उतै बसोबास गर्दै आए पनि उनका सिर्जनाहरूमा अझै पनि नेपालको पहाडको माटोको सुगन्ध भेटिन्छ। उनको लेखाइमा माइती गाउँको माया टाँस्सिएर बसेको देखिन्छ जसले तिक्त अनुभव र फरक संस्कृतिसँगको द्वन्द्वलाई उघार्छ।
तमोरका सुसेली सुसेल्दै नियात्राले उनको बाल्यकालको यात्रा स्मरण गर्दै त्यहाँका उकाला–ओराला सङ्घर्षको कथा बुनिदिन्छ। ती उच्च हिमालहरूमा पैदल हिंडेर आलु साट्ने अवस्थाको स्मृतिमा जानुका शब्दहरू जीवन्त बनिदिन्छन्। खासमा यो उनको निजी स्मृतिकथा झैं लाग्छ।
जब उनी विदेशमा पाइला टेकिसकेर ३० वर्षपछि ताप्लेजुङको घाँटीमा फर्किन्छिन् उनीभित्र मनका भित्ताका पुराना तस्बिर पुनः आँखा अगाडि जीवित भइदिन्छन्। लामो यात्रा, राजनीतिक अस्थिरता र आधुनिकतासँगको सङ्ग्राम उनको लेखाइमा स्पष्ट देख्न सकिन्छ।
लिम्बू भाषा र सांस्कृतिक प्रतीकहरूको धागोले उनका शब्दहरूलाई परम्पराको पोशाकमा सजाइदिन्छ। लाग्छ त्यो पोशाकले उनको अतीतको कहानी भनिरहेको छ। उनको कृतिमा लिम्बू समाजको विविधता, संस्कृति र परम्परा मिजासिलो भाषामा सजाइएको छ।
उनको लेखनको प्रस्टता र मिठासले पाठकलाई समाजको सूक्ष्म भावनाहरूको भोगाइको यात्रा गराउँछ। पुस्तकले नेपालको जनजातीय जीवन र डायस्पोरा सङ्घर्षलाई सँगसँगै झल्काउँदै नेपाली साहित्यलाई थप बलियो बनाउने यत्न गर्दछ। जानुका यिनै सजीव नियात्राहरूले उनको लेखनको जादू र मनमोहक शैलीलाई अझै उत्कृष्ट बनाएको छ।
उनका नियात्रामा परदेशमा लाहुरेको जीवनको तस्बिर उभिन्छ। हङकङ र बेलायतका ती रोमाञ्चक भूमि जहाँ नेपाली समुदायले जीवनको हरेक पललाई माया र सङ्घर्षको रङमा रङ्ग्याएको देखिन्छ। जानुका आफ्नो लेखाइमा आफ्ना पितापुर्खाहरूको वीरताको गाथालाई सम्झिन्छिन्। उनलाई आफ्ना पुर्खा र नेपाली जातिप्रति गर्व बोध छ। विश्वास छ।
उनको कलमले गोर्खा सैनिकको पराक्रम र इतिहासलाई सम्मानपूर्वक उनेर एउटा चित्र कोर्दै पाठकलाई एउटा नयाँ अनुभवको संसारमा डोर्याउँछ। उनको लेखनको सहजता र स्वाभाविकता चाखलाग्दो छ। गाउँको ठेट बोलीको मिठासले पाठकलाई ग्राम्य जीवनको शुद्धता पुनः जागृत गराउँदछ।
फ्लान्डर्स फिल्डमा गोर्खाली शीर्षकको नियात्राबाट यस सँगालोको नामकरण गरिएको छ। यसबाट उनको आफ्ना पुर्खाप्रतिको आस्था र निष्ठालाई थप प्रस्ट्याउँछ। यो नियात्रामा उनी विशेष भावनात्मक हुन्छिन् किनभने युद्धको ठूलो त्रासदी बोकेको छ जहाँ नियात्राकारका आफन्त सहभागी मात्र भएका थिएनन् त्यहींको माटोमा शहादत प्राप्त गरेका थिए।
नियात्रामा जानुले वर्णनात्मक भाषाको प्रयोग गरेकी छन् जुन नियात्राको मर्मअनुसार देखिन्छ। समानान्तर रूपमा स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यको चित्रण गर्दै खास गन्तव्यको परिवेशलाई क्याप्चर गर्न नियात्राकार सफल भएकी छन्।
….म पस्ने बित्तिकै ढोका बन्द भयो र धुवाँ उडाउन थालिहाल्यो रेलले। मेरो डिब्बा खोज्न थालें ०१४ अनि सिट नम्बर ५६। पुछारबाट चढें म, मेरो सिट र डिब्बाचाहिं त्यसको टाउकोमा परेछ (पृ. ९२)।
काठमाडौं छाडेको केही घण्टामा गाडी सिन्धुली पुग्यो। सिन्धुली कति रमणीय। सुनकोशीको तीरैतीर बीपी राजमार्ग। जताततै सुन्तलाको पहेंलै बजार। तर, सुनकोशी नदीपारि भने पूरै उराठ लाग्दो पहरैपहरा। सप्रन खोज्दाखोज्दै बूढो भैगएका रूखपात। यति त अचम्च छ प्रकृति! वारि हरियाली पारि मरूभूमि अनि बीचमा सललल बगिरहेछ सुनकोशी नदी (पृ. १७१)।
नियात्राकारको अद्वितीय दृष्टिकोण र भावनाहरू सँगसँगै नियात्रामा बेरिएका छन्। स्थानीय परिवेशको प्रतिबिम्बले नियात्राकारलाई यस्तोसँग बाँधेर राखेको भान हुन्छ र साथै लेखकको अवलोकन क्षमता पनि प्रमाणित गर्दछ।
मनभरि दर्दनाक युद्धकथा कालो बादल झैं मडारिन थाल्छ। उफ् ! आखिर किन हुन्छ युद्ध ? टाउको रन्केर आयो। समाचारमा सुनिन्छ, फ्रान्सको ग्यालेमा बेलायत आउन खोज्ने आप्रवासी कम्ती छैनन् रे! स्वार्थी भएर सोच्न थालें, साँच्ची तिनीहरू सबै बेलायत छिरे राख्ने ठाउँ पनि नहोला (पृ. ९७)।
नियात्रामा स्थानीय संस्कृति, परम्परा र चलनबारे पनि नियात्राकार मजाले बोलेकी छन्। यसबाट उनको सांस्कृतिक अन्तर्दृष्ट मात्र पुष्टि हुँदैन बरु तत्तत् स्थानको खाना, भाषा, चाडपर्व वा ऐतिहासिक सन्दर्भको पनि जानकारी मिल्छ।
लिम्बुनी न परी, ऊ पनि के पछि हट्थी र ! ‘हो नि सोल्टी, अघि नै कालो कागले तलतिरबाट एउटा भुँडेभुँडे सोल्टी आउँदैछ, उसलाई बरण्डामा किताब लिएर बस्ने केटी मन पर्छ भन्दै थियो, मलाई लैजाने हो त सोल्टी ?’ उसको सिक्चिम् जवाफमा हामी सबै हाँस्यौं।
नियात्रा निबन्धको फाँटकै एउटा गरा हो। नेपाली साहित्यमा जङ्गबहादुरको बेलायत यात्रा जस्तो ऐतिहासिक नियात्राको चम्किलो दृष्टान्त हो। ताना शर्मा, लैनसिंह बाङ्देल, मञ्जुल, नरायण ढकाल, मोहन मैनाली, प्रतीक ढकाल, इल्या भट्टराई, जीवा लामिछाने, युवराज नयाँघरे आदिले नियात्रामा छुट्टै छाप छोड्न सफल भएका छन्। यो नियात्रा लेखनको दौडमा जानु काम्बाङ पछिपछि देखिन्छिन्। विचार र प्रस्तुतिका दृष्टिले उनको लेखनीमा नियात्राको नयाँ आकाश छुनसक्ने सम्भावना देखिन्छ।
अतः जानु काम्बाङको लेखनमा नेपाल र परदेशको जीवनको गहिरो प्रभाव र प्रतिबिम्ब भेटिन्छ। उनको सरल स्वभाव, गाम्भीर्य र माटोको सुगन्धले भरिएको सिर्जनाले पाठकलाई हिमालको उचाइ, सीमितता र सङ्घर्षको कथा सुनाउँछ। परदेशमा बस्दा पनि आफ्ना पुर्खा, संस्कृति र माटोप्रतिको मायाले उनको लेखाइलाई प्रगाढता दिन्छ।
गोर्खाली सैनिकहरूको बलिदान र जनजातीय परम्परामा गर्व गर्दै उनले आफूलाई गाउँकी सोझी नारीमा मात्र सीमित राख्न सकेकी छैनन् बरु साहित्यको अनौठो चमक देखाएर नेपाली डायस्पोरिक अनुभवलाई अनमोल बनाएकी छन्।
‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ मार्फत उनी आफ्ना बाल्यकालका पाइलादेखि विदेशी भूमिसम्मका अनुभवहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्छिन्, जसले नेपाली नियात्रा साहित्यमा नयाँ आयाम थपेको छ।
(डा. थापा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत छन्।)
– यस समाचारको श्रोत : Online Khabar हो ।