Main

‘अगस्त्य’को चौथो सातासम्मको कमाइबारे के भन्छन् निर्माता ?

काठमाडौं । ‘अगस्त्य’को दोस्रो श्रृंखला सन् २०२६ मा रिलिज हुने भएको छ । निर्माताले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिए । पहिलो श्रृंखला अहिले चौथो सातामा प्रदर्शन भइरहेको छ ।

देशव्यापी स्क्रिनिङबारे जानकारी दिन आयोजित प्रेसमिटमा निर्देशक सौरभ चौधरीले पहिलो भागका कमजोरीलाई सच्याएर दोस्रो श्रृंखला ल्याउने बताए । उनले फिल्मलाई साथ दिने दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

‘आलोचना र प्रशंसाका बीच पनि चौथो सातामा चल्नु खुसीको कुरा हो,’ चौधरीले भने, ‘दर्शकले देखाउनुभएको मायाप्रति हामी खुसी छौं । केही कमीकमजोरी छन् । तिनलाई सुधार्ने प्रण गर्छौं ।’

उनले अगाडि भने, ‘फिल्म हेर्न जानुअघि कसको फिल्म, कस्तो फिल्म भनेर सोच्ने भन्दा पनि त्यो सोचलाई खाली राखेर हेर्न गइयो भने मात्र दर्शकको मन भरिन सक्छ ।’

निर्माता अनिश तामाङले पनि दोस्रो श्रृंखलाको तयारी भएकाले दोस्रो भागमा अहिलेका कमजोरी सच्याउने बताए । ‘आउँदो भागमा अझै परिष्कृत पक्ष देखाइनेछ,’ उनले भने, ‘हाम्रो फिल्मले अहिले पनि राम्रो पिकअप लिइरहेको छ । यो खुसीको कुरा हो ।’

अभिनेता सौगात मल्लले आफूलाई विश्वास गरेर दर्शक हलसम्म आइपुगेकोमा खुसी जनाए । ‘दर्शक हाम्रो फिल्म हेर्न उत्साहित भएको पाएँ,’ उनले भने, ‘कलाकार र मेकरका लागि यो भन्दा खुसीको कुरा अरु के नै हुनसक्छ र ?’

अभिनेत्री मलिका महतले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

अभिनेता प्रमोद अग्रहरीले दर्शकले आफ्नो चरित्रलाई रुचाएको बताए । ‘दर्शकले मेरो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई मन पराउनुभएको पाएँ । मेरा को–एक्टरप्रति दर्शकको बुझाइ पनि राम्रो देखें,’ उनले भने, ‘हरेक चरित्रलाई दर्शकले नियालिरहेको आफूले बुझेकाले कलाकारले पनि आफ्नो अभिनयलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने चुनौती मैले देखेको छु ।’

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मले सीमावर्ती क्षेत्रमा हुने मानव बेचबिखन रोक्न नेपाल प्रहरीले चलाउने मिसनको कथा भन्छ ।

पत्रकार सम्मेलनमा निर्माता तामाङले फिल्मको विश्वव्यापी कमाइबाट आफू सन्तुष्ट भएको बताए । उनले चौथो सातासम्म नेपालमा तीन करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको जनाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button